लीलानाथ घिमिरे
बाथरुमको निर्माण तीन चरणमा हुन्छ । ती तीनै चरणमा फरक फरक सामग्री आवश्यक पर्छ । बाथरुम फिटिङको थोक तथा खुद्रा कारोबार गर्दै आएको चाबहिल स्थित रविन स्टोर्सका रविन श्रेष्ठ पहिलो चरणमा पाइप र फिटिङका सामग्री घर बनाउँदै प्रयोग गरिने बताउँछन् । दोस्रो चरणमा टाइल बिछ्याउने काम हुन्छ । अन्तिम चरणमा कमोड, प्यान, बेसिन, धारालगायत जोडेपछि बाथरुमले पूर्णता पाउँछ ।
पाइप तथा फिटिङमा अचेल पिपिआरको प्रयोग बढ्दो छ । केही वर्षअघिसम्म अधिक प्रयोग हुने जिआई (फलामे) पाइपको बजार खिया लाग्ने, फुट्ने, ढुवानीमा बढी लाग्नेलगायत समस्याका कारण करिब १० प्रतिशतमा खुम्चिएको व्यापारीहरू बताउँछन् । त्यसबाहेक १-२ प्रतिशत बजार कम्पोजिट पाइपको छ । पिपिआर पाइप अधिकांश मुलुकभित्रै उत्पादन हुन्छ । नेपाटप, हिलटेक, पञ्चकन्या, आइटिपिएफ लगायतलले पाइप उत्पादन गर्दै आएका छन् । नेपाटपले पाइप फिटिङका सामग्रीसमेत उत्पादन गर्दै आएको छ ।
पाइप र फिटिङको बजारमा आफ्ना उत्पादनले ८० प्रतिशत हिस्सा ओगटेको नेपाल हिलटप इन्डस्टि्रज (नेपाटप) का बजार प्रबन्धक विनोद महतको दाबी छ । आफ्नो कम्पनीले उत्पादन गर्ने पाइपमा तीन पत्र रहने बताउँदै उनले भने, ‘पाइपमा पहिलो पत्रले घामको छाया भित्र पस्न नदिने, बीचको पत्रले भित्र र बाहिरबीच सम्बन्ध विच्छेद गर्ने र भित्रको पत्रले पानीमा ब्याक्टेरिया उत्पन्न हुन दिँदैन ।’
जिआई पाइपजस्तो खिया नलाग्ने, अधिक चिसोदेखि ९५ डिग्री तातोसम्म थेग्न सक्ने, ५० वर्षभन्दा बढी आयु, फिटिङसमा पित्तलको प्रयोग हुने, तताएर जोडिने भएकाले लिकेज नहुने, हलुका भएकाले ढुवानीमा सहज हुने हुँदा नयाँ भवन बनाउने सबैले पिपिआर पाइप नै प्रयोग गर्न थालेको उनले दाबी गरे । नेपाटपले ढलका लागि यस्तै विषेतायुक्त युपिभिसी पाइपसमेत उत्पादन गर्दै आएको उनले जानकारी दिए । नेपाटपले वाषिर्क ४ हजार ५ सय टन पिपिआर र १ हजार ४ सय टन युपिभिसी पाइप उत्पादन गर्दै आएको उनले जानकारी दिए । यो कम्पनीमा डेढ सय जनाले रोजगारी पाएका छन् ।
पाइप तथा फिटिङको करिब १ अर्बको बजार रहेको रविन स्टोर्सका श्रेष्ठको दाबी छ । नेपाटपका महत पनि तीन वर्षअघि कम्पनीले गरेको अनुसन्धानमा पाइप र फिटिङको बजार करिब ९० करोडको पाएको बताउँछन् । त्यतिखेर जिआई पाइपको प्रयोग धेरै थियो । अहिले पिपिआर पाइपको प्रयोग बढेकोछ । ‘यो पाइप जिआईको तुलनामा झन्डै ३० प्रतिशत सस्तो पर्ने भएकाले प्रयोग अधिक बढे पनि कारोबार रकम भने खासै बढेको छैन,’ उनी भन्छन् । सामान्यतः एकतलते घरमा बाथरुमका लागि पाइप र फिटिङमा ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुने व्यापारीको भनाइ छ ।
बाथरुमको भुइँ र भित्ताका साथै किचनमा समेत प्रयोग हुने टाइल भने नेपालमा बन्दैन । बजारमा भारत, चीन, इटली, स्पेन, जापान, कोरियालगायत मुलुकमा निर्मित टाइल उपलब्ध छन् । टाइलको मोटाइ, चम्किलोपना र कम्पनीको ब्रान्डका आधारमा मूल्य फरकफरक छ । बिजुलीबजारस्थित बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजले स्पेनिस र भारतीय टायल बेच्दै आएको छ । बज्रकी बिक्री प्रबन्धक कल्पना श्रेष्ठ आफूकहाँ रहेको स्पेनिस टायल १ सय ४० देखि ५ सय ५० रुपैयाँ वर्ग फिट पर्ने बताउँछिन् । उनकामा भारतीय टाइलहरू ५० रुपैयाँदेखि २ सय २० रुपैयाँ वर्ग फिटमा पाइने पनि छन् । चाबहिलस्थित रविन स्टोर्सका नवीन श्रेष्ठ बजारमा ३५ रुपैयाँ वर्ग फिटदेखिका पाइन्छन् । भुइँ सफा देखिने र सफाइ गर्न सजिलो हुने भएकाले प्रयोग गरिने टाइल विभिन्न रङ र आकारमा पाइन्छन् । ग्राहकको रोजाइमा ५० रुपैयाँदेखि २ सय रुपैयाँ वर्ग फिट पर्ने बढी टाइल पर्छन् । रंगीनको माग बढी छ । टाइल बिछ्याउन एकतले घरको बाथरुममा २० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च हुन्छ ।
टाइल बिछ्याएपछि सुरु हुन्छ आफ्नो छनोटअनुसारको धारा, सावर, कमोड, बेसिन, बाथ टब आदि राख्ने काम । ‘पाइप/फिटिङ र टाइल बिछ्याउन घर बनाउने धनी र मध्यम वर्गका बीच खर्चमा खासै फरक पर्दैन,’ रविन स्टोर्सका नवीन भन्छन्, ‘त्यसपछि भने आफ्नो औकात अनुसारका सामान बजारमा पाइन्छन् ।’
बजारमा समान्यदेखि डिजिटल र सेन्सरजडित कमोड र धारा पाइन्छन् । मानिसले हात थाप्नासाथ पानी आउने, ट्वाइलेट बसेपछि आफै धोइदिने प्रणाली जडित सामग्री बजारमा उपलब्ध छन् । बाथरुम फिटिङ्सका सामान उत्पादक अमेरिकी कम्पनी कोहलरको नेपालमा बिक्रेता बज्र एन्ड बज्राचार्यले बाथरुममा आवश्यक सबै सामग्री ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यहाँ मध्यम वर्गदेखि उच्च वर्गसम्मका लागि गुणस्तरीय सामान पाइने बिक्री प्रबन्धक कल्पना श्रेष्ठ बताउँछिन् ।
कोहलरका बेसिन ४ हजारदेखि ७२ हजार रुपैयाँसम्म पर्ने छन् । यस्तै कमोड १५ हजार ५ सयदेखि ५५ हजारसम्मका छन् । तिनमा पानीको तापक्रम बढाउने, स्प्रे गर्ने, जाडोमा आवश्यकताअनुसार कमोड तताउन मिल्ने सुविधा रहेको कल्पनाले जानकारी दिइन् । मसाज गर्ने हि्वलपुलको ८० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्छ । त्यसले पानीमा डुबेर बस्न सकिने र पानीले नै मसाज गर्ने सुविधा हुन्छ ।
बज्रले भर्खरै बजारमा भित्राएको छ डिजिटल सावर सिस्टम डिटिभी र डिटिभी-२ मुलुकमा भित्र्याएको अत्याधुनिक बाथरुम सिस्टम भएको बज्र एन्ड बज्र इन्टप्राइजेजको दाबी छ ।
यसमा परिवारका सदस्यअनुसार नुहाउने तरिका यसको मेमोरीमा सेट गरेर राख्न सकिन्छ । कसले कुन तरिकाले नुहाउन चाहेको छ त्यहाँ सेट गरेअनुसार नम्बर थिचेपछि नुहाउन सकिन्छ । चारैतिरबाट फोहरा फ्याँक्ने भएकाले यसमा झरनामा नुहाएजस्तै अनुभूति हुने कल्पनाले बताइन् । यसमा आइपोड, कम्प्युटर वा कुनै म्युजिक सिस्टमबाट संगीत सुन्दै नुहाउन सकिन्छ । यसकोे मूल्य पूरै सेटको ३ लाख ९० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्ने उनले जानकारी दिइन् । यहाँ स्टिम मसाजर, एफएम, फोन, सावर सिस्टमलगायत सुविधा भित्रै भएको चिनियाँ स्टिम रुमसमेत १ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ । कोहलर ब्रान्डका धाराका सेट १८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका उपलब्ध रहेको कल्पनाले जानकारी दिइन् । अपार्टमेन्ट कमर्सियल बिल्डिङ, हाउजिङ बन्ने क्रम बढेकाले बाथरुम फिटिङका सामग्रीको माग बढ्दै गएको उनको भनाइ छ ।
बजारमा कमोड, बेसिन, प्यान २ हजार रुपैयाँदेखि र धाराका सेट ३ हजार ५ सय रुपैयाँदेखि पाइने रविन स्टोर्सका रविन बताउँछन् । महंँगो हुँदैमा सबै सामान राम्रो नहुने उनको भनाइ छ । ‘ग्यारेन्टी हेरेर किने सस्तो सामानमा पनि समस्या पर्दैन,’ उनले भने । बजारमा बाथरुम फिटिङसमा ७ वर्षसम्मको ग्यारेन्टी पाइन्छ । रविन स्टोर्सले भारतीय ब्रान्डहरू सोनसेरा, जेक्बार, हिन्डबेयर, स्याङ्कोलगायत ब्रान्डका स्यानिटरी वेयर, धारा र टाइलहरू नेपाली बजारमा बेच्दै आएको छ ।
जनघनत्व बढेकाले उपत्यकामा मात्रै बाथरुमका लागि पाइप र फिटिङ्सको १ अर्ब, टाइल ५० करोड, सेनिटरी वेयर ५० करोड र धाराका सामग्री ७० करोडको कारोबार हुने स्टोर्सका नवीनको अनुमान छ । यसरी हेर्दा बाथरुम फिटिङ्स सामग्रीहरू उपत्यकामा वाषिर्क २ अर्ब ७० करोडको कारोबार हुन्छ ।
उपत्यका बाहिर यसको ५० प्रतिशत थप कारोबार हुने व्यापारीको अनुमान छ । यसरी हेर्दा मुलुकमा बर्सेनि झन्डै ४ अर्ब ५० करोडको कारोबार हुने अनुमान छ । यति ठूलो कारोबार भए पनि पाइप, फिटिङ्स र धाराका केही सामग्रीबाहेक अरू सबैका लागि मुलुक विदेशमा निर्भर छ । सेरामिक -माटो) बाट बनाइने कमोड, बाथटव, बेसिन, प्यान, टाइलसमेत मुलुकमा बन्न सकेको छैन । ठूलो प्रविधि नचाहिने भए पनि ती सामग्री मुलुकमा किन बन्न सकेको छैन भन्नेमा व्यापारी अनभिज्ञ छन् । ती सामग्री निर्माणका उद्योग खोल्न लगानीकर्ता अग्रसर हुनुपर्ने रविन स्टोर्सका नवीनको सुझाव छ ।
प्रकाशित मिति: २०६६ चैत्र १६ ०४:२
No comments:
Post a Comment